तातोपानी नाका आउँदो हप्ता बाट सञ्चालनमा

काठमाडौं । भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ ।  नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिएकी हुन् ।

यो नाका अहिले कार्गो ओसारपसारका लागि मात्र खुला गरिने बताउँदै तत्कालका लागि यसबाट मानव अवतजावत खुला नगरिने स्पष्ट गर्नुभयो ।
उनले भनिन्, “सन् २०१५ को विनाशकारी भूकम्पबाट त्यहाँका भौतिक संरचनामा नराम्रो क्षति भएको थियो ती संरचना अझै पूर्ण रुपमा पुनःनिर्माण गर्न सकिएको छैन । त्यसैले त्यहाँ मानव आवतजावतका लागि अझै खतरा छ । ”

उनले सो क्षेत्रमा आवश्यक पूर्वाधारको पुनःनिर्माणमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेपालका तर्फबाट पनि पूर्वाधारको सुधारमा प्रयास हुनुपर्ने बताइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।