च्याम्पियन्स लिग फुटबलमा लिभरपुलमाथि बार्सिलोनाको शानदार जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा स्पेनिस क्लब बार्सिलोनाले इन्ग्लिश क्लब लिभरपुललाई पराजित गरेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
क्याम्प नाउमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै लुइस स्वारेजले एक गोल गरे ।बार्सिलोनाले खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । यो संगै स्वारेजले सिजनको पहिलो च्याम्पियन्स लिग गोल गरे । पुर्व क्लबविरुद्ध स्वारेजको यो पहिलो गोल समेत हो ।
पहिलो हाफमा १-० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । जसमा कप्तान मेस्सी नायक बने । खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । लिभरपुलविरुद्धको दुई गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ६ सयौं गोल पुरा गरेका छन् ।यस्तै लिभरपुलविरुद्ध तीन गोल गरेसंगै बार्सिलोनाले च्याम्पियन्स लिगमा ५ सय गोल पुरा गरेको छ ।घरेलु टोलीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि लिभरपुलले गोल गर्न सकेन ।लिभरपुलले पाएको केहि गोलको अवसर समेत खेर फालेको थियो ।
पहिलो लिगको जितसंगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लिग लिभरपुलको मैदान एनफिल्डमा हुनेछ ।उक्त खेलमा बार्सिलोनालाई बराबरीले फाइनल प्रयाप्त हुनेछ ।घरेलु टोलीलाई भने उत्कृष्ट पुनरागमनको जित आवश्यक बनेको छ ।
यसअघि बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाईटेडलाई समग्रमा ४-० गोल अन्तरले पराजित गरेको थियो । यस्तै लिभरपुलले पोर्टोलाई समग्रमा ६-१ ले हराएको थियो ।